किरातहरूले साझा वर्ण र लिपि प्रयोग गर्ने

समाचार

किराती भाषाहरूको साझा वर्ण निर्धारण र लिपि सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । किरात राई यायोक्खाको संयोजन/ व्यवस्थापन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानको आयोजना र किरात राई प्रज्ञा परिषदको प्राज्ञिक संयोजनमा यायोक्खाको सुम्निमा हल कोटेश्वरमा सम्पन्न भएको २ दिने कार्यशालाले सम्पुर्ण किराती समुदायको भाषाको साझा वर्ण निर्धारण गर्ने, किरात श्रीजंगा लिपिलाई व्यापक प्रयोग गर्न गराउनको लागि आवस्यकीय परिमार्जन गर्नेगरी किरात संस्थाहरूले आ-आफ्नो संस्थामा छलफल गरि यथासक्य चाँडो प्राज्ञिक/प्राविधिक समूह गठन गरी तत्काल काम अगाडि बढाउने गरी संस्थाहरूलाई म्याण्डेड दिएको छ ।

दोश्रो दिनको कार्यशालाको अध्यक्षता आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल प्रशाद राजवंशीले र संचालन यायोक्खाका महासचिव जनक राइले गरेका थिए । गोष्ठीमा किरात संस्थाहरू किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, किरात याक्थुम चुम्लुङका अध्यक्ष योगराज लिम्बू, सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवार, किरात याख्खा छुम्माका अध्यक्ष लिल बहादुर रोगुले संस्थागत भनाइ राखेका थिए ।

कार्यक्रममा डा तारामणि राइको कार्यपत्र, गोष्ठीको उद्देश्य र बिषयमाथी किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, संस्कृतिविद जीतेन राई, भाषाविद डा. लाल रापचा, याक्थुम चुम्लुङका पूर्व महासचिव तथा वर्तमान सदस्य गोबिन्द आङबुहाङ, किरात पुमा राई तुप्खावाङखालाका उपाध्यक्ष/नेपाल सरकारका सहसचिव श्रीकुमार पुमा राई र गणेश पुमा चिन्तन, वाम्बुले राई समाज (वाम्रास) नेपालका अध्यक्ष/वरिष्ठ पत्रकार गजुरधन राई, किरात बायुङ राई सुम्निखिमका अध्यक्ष ज्ञान बायुङ राई, थुलुङ राई सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष निर्कुधन थुलुङ राई,  किरात साम्पाङ राई जुम्लेखा नेपालका चक्रभुषण साम्पाङ राई, भाषा अध्ययता रमेश थामी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष कमल प्रशाद राजवंशीले यस्तो महत्त्वपूर्ण कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने बिचार राख्दै सहकार्य जारी राख्ने प्रतिबद्धता दोहोराउनु भयो । कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र उपलब्धीमूलक रहेको प्रतिक्रिया सहभागीहरूले राखेका थिए ।

किरात पुमा राई तुप्खाबाङ्‌खालाको तर्फबाट संस्थाको प्रतिनिधित्व गर्दै श्रीकुमार पुमा राई, परशु पुमा राई विराट, ध्रुब राई र गणेश पुमा चिन्तन  सहभागी हुनुभएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री श्रीकुमार पुमा राईले संस्थाको तर्फबाट पुमा भाषाको कक्षा १-५ को पाठ्यक्रम, पुमा शब्दकोश र कक्षा एकको पुमा भाषाको पाठ्यपुस्तक किरात राई प्रज्ञाप्रतिष्ठानका अध्यक्ष जयकुमार राई र किरात राई यायोक्खाका अध्यक्ष दिवसराईलाई संस्थागत रूपमा हस्तान्तरण समेत गर्नुभएको थियो ।

कार्यक्रमका केही झलकहरू

           

Leave a Reply

Your email address will not be published. Required fields are marked *