पुमा भाषा किरात लिपिको लेटरप्याड प्रयोग गर्ने

समाचार

काठमाडौं । जन्तेढुङ्‌गा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि किरात लिपि सहितको लेटरप्याड प्रयोग गर्ने भएको छ। गाउँपालिकाले पुमा भाषामा लेखिएको किरात लिपिसहितको लेटरप्याड प्रयोग गर्ने निर्णय पुमा राईहरूको साझा संस्था किरात पुमा राई तुप्खाबाङ्‌खालाको सिफारिसमा गरेको हो। पुमा राईहरूको बाहुल्य रहेको सो गाउँपालिकाका अन्य वडा कार्यालयहरूमा समेत किरात लिपिसहितको लेटरप्याड प्रयोग गर्ने निर्णय भएको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत मेनुका पाण्डेले बताउनु भयो।

कोरोना महामारीका कारण रोकिएको पुमा भाषाको पाठ्यक्रमको पठनपाठन समेत यसै आर्थिक वर्षदेखि सञ्चालन हुने भएको छ। पहिलो चरणमा पुमा भाषाको पाठ्यक्रम सञ्चालन गरिने विद्यालयहरूमा वडा नं. १ स्थित जनता आवि बुकुला देवीस्थान, वडा नं. ५ स्थित जनबहुमुखी आवि घोर्ले चिसापानी, वडा नं. ५ स्थित सिंहदेवी आवि पाथिभरा, चिसापानी, वडा नं. ६ स्थित पैयाटार आवि निगालबास दिप्लुङ, वडा नं. ६ स्थित भानु आवि हलहले दिप्लुङ रहेका छन्।

हाल कक्षा २ र ३ को पुमा भाषाको पाठ्यपुस्तक निर्माणको चरणमा रहेको किरात पुमा राई तुप्खाबाङ्‌खालाका केन्द्रीय अध्यक्ष श्री भुपेन्द्र पुमा राईले बताउनुभयो। ती पाठ्यपुस्तकहरूमा समेत किरात लिपि प्रयोग गरिने पुमा भाषा पाठ्यक्रम पाठ्यपुस्तक निर्माण प्राविधिक समितिका संयोजक खडग पुमा राईले जानकारी दिनुभयो।

यसैबीच  किरात राई यायोक्खाको संयोजन तथा व्यवस्थापन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना र किरात राई प्रज्ञा परिषदको प्राज्ञिक संयोजनमा यायोक्खाको सुम्निमा हल कोटेश्वरमा सम्पन्न भएको २ दिने कार्यशालाले सम्पूर्ण किराती समुदायको भाषाको साझा वर्ण निर्धारण गर्ने, किरात लिपिलाई व्यापक प्रयोग गर्न गराउनको लागि आवश्यक परिमार्जन गर्नेगरी किरात संस्थाहरूले आ आफ्नो संस्थामा छलफल गरी यथासक्य चाँडो प्राज्ञिक/प्राविधिक समूह गठन गरी तत्काल काम अगाडि बढाउन संस्थाहरूलाइ म्याण्डेड दिएको छ ।

लेटरप्याडको नमूना

Leave a Reply

Your email address will not be published. Required fields are marked *